प्रमुख प्रशासकीय अधिकृत निरौलासहित ६ जनामाथि भ्रष्टाचारको आरोप
काठमाडौँ– सङ्खुवासभाको खाँदबारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित ६ जनामाथि भ्रष्टाचारको आरोप लागेको छ।
खाँदबारी–६ हिगुवा महानन्द चोक हुँदै थलेडाँडा–बर्खेडाँडा सडकखण्ड निर्माणका लागि विनियोजित रकममा ३ लाख ७४ हजार १२७ रुपैयाँ अनियमितता गरेको पुष्टि गर्दै अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरौला, तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र सबइन्जिनियर मनोजकुमार चापागाईँलाई प्रतिवादी बनाएको छ।
रकम हिनामिनामा संलग्न महानन्द चोक हिगुवा योगी डाँडा हुँदै बर्खे डाँडा मोटर बाटो मर्मत उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपालबहादुर थापामगर र कोषाध्यक्ष मेनुका तामाङलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:२२
प्रतिक्रिया दिनुहोस्