देवघाटधाममा पहिरो: वेणी जाने बाटो र गलेश्वर आश्रम धरापमा
चितवन– केही दिनयताको निरन्तर वर्षाले कमजोर बनेको त्रिशूली नदी छेउको ढिस्कोमा पहिरो गएपछि देवघाटधामस्थित गलेश्वर आश्रम र वेणी जाने बाटो धरापमा परेका छन् ।
बुधबारदेखि नै पहिरो झर्न सुरु गरेकोमा बिहीबार बिहान ५:४५ बजे थप पहिरो गएकोले वेणी संगम जाने बाटो बन्द हुन पुगेको छ ।
पहिरोले ऐतिहासिक महत्त्वको गलेश्वर आश्रम र पुरातात्त्विक ज्योतिर्लिङ्गेश्वर शिवालय मन्दिर खतरामा परेको गलेश्वर आश्रमका पीठाधीश महामन्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरी महाराजले जानकारी दिए । ऐतिहासिक गलेश्वर आश्रममा पहिरोबाट क्षति पुग्ने जोखिमसँगै त्यहाँ आश्रित करिब ३ सय वृद्ध वृद्धामा त्रास छाएको छ ।
आश्रमद्वारा सञ्चालित गुरुकुलमा आवासीय शिक्षा लिइरहेका करिब २ सय ५० जना विद्यार्थी र आश्रमका कर्मचारी र गुरुहरू करिब ५० जना पनि जोखिममा परेको गिरी महाराजले बताए । आश्रममा दैनिक ३ सय जना आगन्तुकले नि:शुल्क भोजन गर्दै आएका छन् ।
देवघाटधाममा पहिरो गएपछि त्यसले पुर्याएको असरबारे बुझ्न देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे, देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले स्थलगत निरीक्षण गरेका छन् । उनीहरूले पहिरो नियन्त्रणका लागि स्थानीय स्तरबाट तत्काल काम सुरु गरिने र यसको दीर्घकालीन समाधानका लागि केन्द्र सरकारबाटै पहल हुनुपर्ने बताए ।
पहिरो गएको जानकारी पाएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिरो रोकथामका लागि पहल सुरु गरेका छन् । उनले तत्काल पहिरो नियन्त्रण र पुनर्निर्माणका लागि आफूले पहल गरिरहेको जानकारी दिए । त्रिशुलीपारीको देवघाटधाम तनहुँमा पर्छ, जुन पौडेलको निर्वाचन क्षेत्र पनि हो ।
२०७२ साल वैशाख १२ गते गएको महाभूकम्पले त्रिशूलीपारि देवघाटधामस्थित डाँडोमा असर पारेपछि बर्खामास सानोतिनो पहिरो खस्ने समस्या सुरु भएको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतमा त्यस ठाउँको स्थलगत निरीक्षणपछि पश्चिमाञ्चल क्षेत्रीय सिँचाई विभाग पोखरालाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि निर्देशन दिएका थिए ।
पहिरो नियन्त्रणको काम सुरु नहुँदै अहिले देवघाटधामका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका मठ, मन्दिर, आश्रम, गुरुकुल र बाटो धरापमा परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:२२
प्रतिक्रिया दिनुहोस्