इङ्ग्ल्याण्ड–पाकिस्तान टी ट्वेन्टीमा बन्यो थुप्रै कीर्तिमान
काठमाडौं– पाकिस्तान र इङ्ग्ल्याण्डबीचको दोस्रो टी ट्वेन्टी खेलमा पाकिस्तानले १० विकेटले विजयी भएको छ । यो जितसँगै ७ खेलको शृङ्खला १–१ ले बराबरी भएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्लिस टोलीले दिएको २०० रनको ठूलो लक्ष्य पाकिस्तानले कुनै पनि विकेट नगुमाइ पूरा ग¥यो । पाकिस्ताले जित हासिल गर्दा तीन बल बाँकी नै थियो ।
पाकिस्तानका ओपनरद्वय बाबर आजम र मोहम्मद रिजवानले १९ ओभर ३ बलमा २०३ रन बनाएर खेल जित दिलाए । यो जितसँगै थुप्रै कीर्तिमान पनि बनेको छ ।
टी–ट्वेन्टी क्रिकेटमा विकेट नगुमाई हालसम्म सर्वाधिक धेरै रनको लक्ष्य भेटाउने पहिलो कीर्तिमान बनेको छ । यस्तै कप्तान बाबर आजमको व्यक्तिगत सफलता पनि बनेको छ । जितसँगै बाबरले पाकिस्तानको कप्तानको रूपमा सबैभन्दा बढी खेल जितेको कीर्तिमान बनाए । बाबर र रिजवानको कीर्तिमान पनि बनेको हो । उनीहरूको २०३ रनको पार्टनरशिप पाकिस्तानको लागि टी ट्वेन्टीमा सर्वाधिक ठूलो पार्टनरशिप हो । उनीहरूको २०३ रनको पार्टनरशिप हालसम्मकै सर्वाधिक ठूलो ओपनिङ पार्टनरशिपको कीर्तिमान पनि बनेको हो । उनीहरूले सन् २०२१ मा बनाएको आफ्नै १९७ रनको कीर्तिमान भङ्ग गरेका हुन् । यो सूचीको टप फाइभमा चार वटा उनीहरूको कीर्तिमान छ ।
यसैगरी बाबर आजम टी ट्वेन्टीमा सबैभन्दा छिटो आठ हजार रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा पुगे । उनी वेस्ट इण्डिजका लेजेण्ड क्रिस गेलभन्दा पाँच इनिङ पछि परे ।
यस्तै पाकिस्तानको कप्तानको रूपमा बाबरले सर्वाधिक १० शतक बनाएर अर्को कीर्तिमान पनि बनाए । उनले ६२ बलमा शतक प्रहार गरेका थिए । पछिल्लो समय फर्मभन्दा बाहिर रहेका बाबरको अत्यधिक आलोचना हुन थालेको थियो । एसिया कपमा उनको प्रदर्शनपछि त ओपनिङमा आउन नहुने भन्दै आलोचना हुन थालेको थियो । तर, इङ्ग्ल्याण्डविरुद्धको प्रदर्शनले आलोचना मत्थर भएको छ ।
यता बाबरको शतकले छायामा पारे पनि रिजवानले ५१ बलमा ८८ रनको महत्वपूर्ण पारी खेले । उनको विस्फोटक ब्याटिङकै कारण पाकिस्तानको जित सम्भव भएको हो ।
बलिङतर्फ पाकिस्तानका शाहनवाज दहानीले २ विकेट लिए । ह्यारिस राउफले पनि २ विकेट लिए । मोहम्मद नवाजले १ विकेट हात पारे ।
ब्याटिङतर्फ इङ्ग्ल्याण्डका कप्तान मोइन अलीले ५५ रन बनाए। बेन डकेटले ४३ रन बनाए । फिल सल्टले ३० रन बनाउँदा एलेक्स हेल्स २६ रन बनाएर आउट भए ।
पाकिस्तान र इङ्ग्ल्याण्डबीचको तेस्रो टी ट्वेन्टी नेपाली समयअनुसार आज राति ८ः१५ मा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:५४
प्रतिक्रिया दिनुहोस्