Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गीको प्रकोप

बिहीबार, मंसिर ८, २०७९
इस्लामावाद–बाढीबाट क्षति पुगेको पाकिस्तानमा डेङ्गीको प्रकोप थप बढेको छ । पाकिस्तानका अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गीको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको जनाएका छन् । पाकिस्तानको सिन्ध प्रान्त डेङ्गीबाट बढी प्रभावित देखिएको छ । पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएको सो प्रान्तमा डेङ्गीको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ । यस प्रान्तमा मात्र डेङ्गीको प्रकोपबाट कम्तीमा पनि ३० जनाको ज्यान गएको सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार यहाँ डेङ्गीबाट गएको २४ घन्टा यतामात्र यहाँका चार सय दुइ जनालाई रोग लागेको छ । यसपछिको प्रभावित क्षेत्र कराँची हो । कराँचीमा गएको २४ घन्टामा दुई सय ७९ जनामा यसको सङ्क्रमण देखिएको छ । सिन्ध र कराँची यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका प्रान्त हुन् । बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गीको ज्वरोको प्रकोप बढेको बताइएको छ । सेप्टेम्बर महिनामा सिन्धमा चार हजार तीन सय भन्दा बढीमा डेङ्गीको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसम्म छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेङ्गीको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्