स्वदेश सामान खरिद गर्न व्यापारीको आग्रह
नेपालगंज–नेपालगंजका व्यापारीले नाकामा पुगेर नेपाली ग्राहकहरूलाई स्वदेशमा सामान खरिद गर्न आग्रह गरेका छन् ।
नेपालगंज उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीको टोली जमुनाहा नाकामा पुगेर स्वदेशमै खरिद गर्न आग्रह गरेका हुन् ।
सामान खरिद गर्न सीमापारी रुपैडिहा जान थालेका नेपालीलाई सस्तोको नाममा भारतमा खरिद गर्दा धोका भएको व्यापारीले दाबी गरे। उनीहरूले सीमापारी सस्तो पाइन्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरे ।
नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सीमावारी नै बजार प्रवद्र्धन गर्नका लागि स्वदेशमै खर्च गरेर राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु आग्रह गरे ।
संघका महासचिव चिरञ्जिवी ओलीले सस्तोको नाममा रुपैडिहा पुगेका व्यापारी ठगिने गरेको बताए । दसैँको मुखमा रुपैडिहा किनमेल गर्न जानेको भीड छ । यही बेलामा नेपालगंजका व्यापारीले अवैध सामान रोक्न भन्सारलाई दबाब बढाएको छ । व्यापारीहरूले नाकामा पुगेर ‘स्वदेशमै सामान खरिद गरौँ’ भन्ने पर्चा वितरण गरेका छन् ।
संघले शुक्रबार राष्ट्र बैंक अगाडि धर्ना पनि दिएको थियो । बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २०÷२५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको संघले विरोध गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:२४
प्रतिक्रिया दिनुहोस्