Nic Ad Nic Ad
Nic Ad Nic Ad

सबै नेपालीले नागरिकता पाउनुपर्छ : मन्त्री चौधरी

शुक्रबार, मंसिर ९, २०७९
चरीकोट– सहरी विकास मन्त्री मेटमणि चौधरीले सबै नेपालीले नागरिकता पाउनुपर्ने बताएका छन्। नेपाल थामी समाज दोलखा शाखाको छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै चौधरीले सो कुरा बताएका हुन्। पछिल्लो समयको राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध असन्तुष्टि व्यक्त गर्दै उनले नागरिकता समस्या विशेष गरेर तराईका जिल्लामा रहेको बताए । दाइको नागरिकता छ भाइको छैन, कसैको स्नातक पास छ, नागरिकता छैन यस्ता लाखौँ नेपालीको समस्या रहेको बताउँदै उनले नेपालको विकासमा योगदान गर्ने सबै जनाले नागरिकता पाउनुपर्ने बताए। राष्ट्रपतिकै कारण आज नागरिकता विधेयक सर्वोच्च अदालत पुगेको र अदालतले नेपाली जनताको पक्षमा फैसला गर्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ। नेपालको लोकतन्त्र प्रजातन्त्र प्राप्ति गर्नका लागि थामी समुदायको अपरिहार्य योगदान रहेको बताउँदै उनले अहिले राजनीतिमा थामी समुदायको कमजोर उपस्थिति रहे पनि आगामी दिनमा त्यस्तो नहुने बताए । उनले थामी समाजका युवाले सबै राजनीतिक दलमा प्रभाव जमाउनु पर्ने आजको आवश्यकता रहेको बताउँदै आफू अगुवा बनेर अगाडि बढ्दै सामाजिक समस्याको उजागर गर्नुपर्ने बताए। थामी समुदायको शिक्षा क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रमा पनि जागरण आउनु पर्ने उनको भनाइ छ। नेपालमा जेठो छोराले मात्र राज्य चलाउने चलनको अन्त्य गरेर राजनीतिक दलले नेतृत्वमा पुगेको तर अहिले मुलुक सञ्चालन गर्न राजनीति दल असफल भएको उनले बताए। राजनीतिक दल फेरि पनि मिल्नुको विकल्प नरहेको बताउँदै उनले सबै मिलेर मात्र देशको परिवर्तन सम्भव रहेको बताए। दोलखामा थामी समाजको कार्यालय बनाउने प्रतिबद्धता जनाउँदै उनले जग्गाको व्यवस्थापन गरेर मन्त्रालय आउन आग्रह गरे। नेपाल थामी समाज दोलखाले छैटौँ अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:२४
प्रतिक्रिया दिनुहोस्