Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनुसन्धानमा आधारित नीतिले विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ : प्रधानमन्त्री देउवा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अनुसन्धानमा आधारित नीतिले देशको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा लिखित शुभकामना दिँदै प्रधानमन्त्री देउवाले अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्त्वपूर्ण योगदान हुने बताएका हुन् । नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’हरुको भूमिका अझ महत्त्वपूर्ण हुनेमा प्रधानमन्त्री देउवाले जोड दिए । प्रधानमन्त्री देउवाले समस्या समाधान गर्न धरातलीय यथार्थ र प्रमाणमा आधारित तथा दूरगामी सोचसहितका सार्वजनिक नीति तर्जुमा कार्यान्वयन हुन आवश्यक रहेको उल्लेख गरे। “यस्ता नीतिले मात्र नेपालको संविधानले निर्दिष्ट गरेअनुरूप जनताका आवश्यकताको परिपूर्तिका साथै सुशासनको अभिवृद्धि गरी मुलुकको सर्वाङ्गीण विकासमा योगदान दिन सक्छन् ।’ शुभकामनामा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘मुलुकमा लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको संरक्षण गर्दै जनअपेक्षा सम्बोधन गर्न व्यावहारिक विश्वसनीय, गुणस्तरीय र कार्यन्वयन योग्य नीतिको आवश्यकता पर्दछ र यस्ता नीति तर्जुमा गर्न गहन अध्ययन र अनुसन्धानको आवश्यकता पर्दछ । यही आवश्यकतालाई महसुस गरेर नै नेपाल सरकारले स्वायत्त प्रकृतिको नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको हो’ । आगामी दिनमा प्रतिष्ठानले अनुसन्धानमा आधारित नीति तर्जुमामा अग्रणी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिँदै उनले प्रतिष्ठानको क्षमता विकास र सुदृढीकरणका लागि नेपाल सरकारले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्