अविरल वर्षाले अछामवासी त्रसित
अछाम– बाढी र पहिरोको परी २३ जनाले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै पुन: अविरल वर्षा हुन थालेपछि अछाम बासी त्रसित बनेका छन् ।
गत भदौ ३१ गते रातीको अविरल बर्षाले पहिरोमा पुरिएर २२ जना र १ जनाको खोलाले बगाएर ज्यान गएको अछाममा पुन: शनिवार रातीदेखि निरन्तर वर्षा भइरहेको छ ।
जिल्लाको पहिरोपीडित क्षेत्रका स्थानीय अविरल बर्षाका कारण फेरी त्रसित बनिरहेका छन् । भदौ ३१ गते रातीको पहिरोमा आफ्नो ५ जना परिवारको वियोग खेपेका कमलबजार ८ ढाँकुका कल्लान नेपाली फेरी दु:खद घटना व्यहोर्नुपर्ने हो कि भन्दै चिन्तित हुनुहुन्छ ।
भदौ ३१ बेलुकाका खाना खाएर सुतेका आफ्ना नाति बुहारी सहित ५ जनाको दु:खद निधन भएको भन्दै फेरी मौसमले धोका दिने हो कि भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । फेरी निरन्तरको बर्षाका कारण स्थानीयलाई त्रसित बनाएको सोही ठाउँका हिक्मत नेपालीको भनाई छ ।
पहिरोमा परी हालसम्म १२ जनाको ज्यान गइसकेको जिल्लाको तुर्माखाँद गाउँपालिकामा पनि पहिरोको ठुलो जोखिम छ । विभिन्न गाउँ बस्ती पहिरोको जोखिममा रहेका गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताउनु भयो । आफूहरूले स्थानीयलाई सजग र सचेत रहन आग्रह गरेको र पालिकाले पनि विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरिसकेको अध्यक्ष बिसीको भनाई छ ।
जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम क्षेत्रमा ठुलो पानी पर्ने पूर्वानुमान गरेको र अछाम पनि जोखिममा रहेकाले आफूहरूले सचेत रहन सबैलाई आग्रह गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले जोखिमपूर्ण क्षेत्रमा रहेका र सम्भावित जोखिम हुने क्षेत्रको पूर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको छ । साथै जिल्लाका कर्णाली, बुढीगंगा, कैलाशखोला जस्ता क्षेत्रमा पानीको बहाब बढिरहेकाले सचेत रहन तथा विपद् परेमा जिल्ला प्रशासनमा सम्पर्क गर्न आग्रह गरेको छ ।
जिल्लामा अविरल बर्षाका कारण पहिरोका कारण ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । बर्षाका कारण बाटोघाटो, पुलपुलोसा, खेतीबारी, पशु चौपायामा ठुलो क्षति भएको प्रहरीले जनाएको छ । क्षतिको एकिन विवरण अझैँ आई नसकेको जनाइएको छ ।
जिल्ला प्रकोप तथा उद्धार समितिको बैठकले गत भदौ ३१ गते पहिरोले मानवीय क्षति भएका पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि प्रदेश तथा संघीय सरकालाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०२
प्रतिक्रिया दिनुहोस्