सभामुख सापकोटाको अध्यक्षतामा भएका निर्णय कार्यान्वयन नगर्न तिमिल्सिनाको पत्र
काठमाडौँ –राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगर्न भन्दै संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको कार्यावधि सकिएको र उनको अध्यक्षतामा अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले महासिचव गौतमलाई पत्र लेखेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले महासचिव गौतमलाई आइतबार लेखेको पत्रमा संघीय संसद् व्यवस्थापन समितिको असोज ५ का निर्णय कार्यान्वयन गर्न उपयुक्त नदेखिएको उल्लेख छ ।
प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी दर्ता हुने दिनसम्म रहने व्याख्या गर्दै तिमिल्सिनाले महासचिवलाई पत्र लेखेको छन् ।समानुपातिकको लागि नयाँ बन्दसूची निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा प्रतिनिधिसभा सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो कि होइन भनेर उनले आयोगलाई पनि पत्र पठाएर जवाफ मागेका थिए ।