Nic Ad Nic Ad
Nic Ad Nic Ad

चाडपर्व लक्षित गरी सवारी साधनमा जाँच कडा गरिने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ–चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारी साधनको जाँचमा कडाइ गर्ने भएको छ । दसैँका लागि सोमबार घटस्थापनादेखि धेरै सङ्ख्यामा यात्रु बाहिरिने र चाडपर्वका बेला यात्रुवाहक सवारी साधनलाई रुट अनुमति आवश्यक नपर्ने हुँदा जाँच बढाइएको कार्यालयले जनाएको छ । सवारी साधनलाई छतमा यात्रा गर्न नदिने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, चालकले मादक पदार्थ सेवन ९मापसे० गरेर चलाएको छ, छैन जाँच गर्ने र सवारी साधनको अवस्था जाँच गरिने कार्यालयका प्रवक्ता राजेन्द्र भट्टले बताए । उपत्यकाबाट बाहिरिने मात्रै नभई उपत्यकाभित्रै चल्ने सवारी साधनलाई लक्षित गरेर जाँच बढाउन लागिएको पनि कार्यालयले जनाएको छ । उपत्यकामा पनि दसैँमा धेरै सवारी साधन बाहिरिएर सडक खुकुलो हुँदा चालकले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटनाको सम्भावना बढी हुँदा यो समयमा थप जाँच गर्न लागिएको छ । चाडपर्वका समयमा एकै पटक धेरै सवारी साधन बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ । कार्यालयले उपत्यकामा सवारी साधन व्यवस्थापन गर्ने र उपत्यकाबाहिर प्रदेश स्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ । प्रवक्ता भट्टका अनुसार यात्रुको गुनासो सम्बोधनका लागि विभाग, व्यवसायी र ट्राफिक प्रहरी सम्मिलित यात्रु सहायता कक्षको स्थापना गरिएको छ । त्यो सम्बोधन नहुँदा १०० र १०३ मा पनि सम्पर्क गरेर गुनासो राख्न सकिने उनले बताए । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४२
प्रतिक्रिया दिनुहोस्