मङ्सिर ९ देखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने
काठमाडौँ– मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।
दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुने छन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा पनि मञ्चन हुनेछन् ।
दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २०० कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी काठमाडौं बाहिरका कलाकार रहनेछन् । पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव सुरु गरेको बताए ।
उहाँले अबको जिम्मेवारी आफूहरूको नै रहेकोले नाटकको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताए । आफू सामाजिक रूपमा तयार रहेको पनि आर्थिक रूपमा कठिनाइ रहेको उनको भनाइ छ ।
त्यस्तै, निर्देशक एवम् वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए। महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरूको साझा महोत्सवको रूपमा लिनुपर्ने उनको धारणा छ ।
यस वर्ष सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च, विविधताको उत्सव भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाउने आयोजकले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:११
प्रतिक्रिया दिनुहोस्