कार्यदलको बैठक सकियो, भोलि बिहान ८ बजे बैठक पुन: बस्ने
काठमाडौँ– सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे टुङ्गो लगाउन गठित कार्यदलको आजको बैठकमा पनि प्रदेश सभा सदस्यको सिट बाँडफाँडबारे छलफल भएको छ ।
प्रतिनिधिसभातर्फ सिट बाँडफाँडको विषय शीर्ष नेताहरू समेतको छलफलपछि लगभग सहमतिको नजिक पुगिसकेको भए पनि प्रदेश सभा सदस्यको सिट बाँडफाँडबारे टुङ्गो लगाउन बाँकी रहेपछि कार्यदलको हिजोदेखिका बैठकमा प्रदेशसभा सदस्यको सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ ।
आजको बैठकमा पनि त्यसबारे पूर्ण रुपमा सहमति बन्न नसक्दा भोलि बिहान ८ बजे पुन: बस्ने गरी बैठक स्थगित भएको कार्यदलका कार्यालय सचिव केशवराज जोशीले रेडियो नेपाललाई जानकारी दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजेदेखि बसेको गठबन्धन कार्यदलको बैठकमा दलहरुबीच व्यापक रुपमा छलफल भए पनि सहमति जुट्न नसकेपछि अन्तिम रूप दिनका लागि थप छलफल गर्नुपर्ने भएको कार्यदलले जनाएको छ ।
कार्यदलले प्रदेशसभाको बाँडफाँटमा खाका तयार गर्ने र चुनावी तालमेललाई अन्तिम रूप दिने गरी काम गरिरहेको सचिव जोशीले बताए ।
कार्यदलले प्रदेशसभाका बारेमा खाका बनाएपछि प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फको सिट बाँडफाँट र निर्वाचन क्षेत्रबारे अन्तिम रूप दिइने पनि सचिव जोशीले बताए।
सत्ता गठबन्धन दलले गत साउन २० गते चुनावी तालमेल गर्ने सहमति गरेपछि सिट बाँडफाँड र निर्वाचन क्षेत्रका बारेमा कार्यदल र शीर्ष नेताहरू समेतको उपस्थितिमा निरन्तर रुपमा छलफल हुँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:४०
प्रतिक्रिया दिनुहोस्