Nic Ad Nic Ad
Nic Ad Nic Ad

खप्तड घुम्ने पर्यटकको सङ्ख्या बढ्दै

शुक्रबार, मंसिर ९, २०७९

सिलगढी– प्राकृतिक सौन्दर्य र धार्मिक हिसावले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख गोपाल घिमिरेका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ७३० जना नेपाली, पाँच जना सार्क मुलुक र ११ जना सार्क मुलुक बाहेकका विदेशी पर्यटक खप्तड घुम्न आएका थिए ।

यसैगरी, २०७७र०७८ मा एक हजार ६७३ नेपाली, सार्क मुलुकबाट एक जना र सार्क मुलुक बाहेक तीन विदेशी पर्यटक आएकोमा आर्थिक वर्ष २०७८र०७९ मा नेपाली दुई हजार १८७ सार्क मुलुकबाट तीन जना र सार्क मुलुक बाहेकका विदेशी १९ जना खप्तड घुम्न आएका छन् ।

भू–स्वर्गका नामले परिचित खप्तड सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ्ग, डोटी र बाजुरा जिल्लाको संगमस्थलको रुपमा लिने गरिन्छ । खप्तडमा फराकिला पाटनहरु, रङ्गीचङ्गी फुलहरु र सुन्दर भू–बनोट रहेको छ । खप्तड क्षेत्र जैविक विविधता र धार्मिक आस्थाका हिसावले महत्त्वपूर्ण गन्तव्य हो । खप्तड २२५ वर्ग किलो मिटरमा फैलिएको छ ।

त्रिवेणी, खप्तडदह, सहस्रलिङ्ग, नागढुङ्गा, खापरमाडौंलगायतका स्थानहरूलाइ हिन्दुहरुका लागि पवित्र तीर्थस्थलका रुपमा लिने गरिएको छ । यी स्थानहरूमा गंगा दशहरा, जनैपूर्णिमा, भदौ शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) जस्ता धार्मिक पर्वहरुमा मेला लाग्ने र पुजाआजा हुने गरेको छ । खप्तड क्षेत्रमा २२ वटा पाटन रहेका छन् ।

बाघ बुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । हिउँद याममा हिउमुनि लुक्ने खप्तड बसन्त ऋतुदेखि वर्षायाममा रंगिचंगी फुलहरुको विशाल बगैचा जस्तै देखिने गर्दछ । पौराणिक कालमा ऋषिमुनिहरूले तपस्या गरेको पवित्र क्षेत्रका रुपमा समेत खप्तडलाइ लिने गरिन्छ । स्कन्द पुराणमा समेत खेचरादी पर्वतका नामले खप्तड क्षेत्रको वर्णन गरेको पाइन्छ ।

यस क्षेत्रमा २०४० सालदेखि राष्ट्रिय निकुञ्ज स्थापना गरिएको छ । निकुञ्ज भित्र ५६७ थरिका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा बढी किसिमका चरा पाइने गरेको बताइन्छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर सम्मको उचाइमा खप्तड रहेको छ । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ ।

खप्तड क्षेत्र खप्तडबाबा अर्थात् स्वामी सच्चिदानन्द सरस्वतीले तपस्या गरेको पवित्र भुमी हो । खप्तड बाबाले खप्तडमा करीब ५० वर्ष बिएका थिए । खप्तडबाबा आध्यात्मिक गुरु र दार्शनिकका रुपमा चिनिन्छन् ।

खप्तड आउने पर्यटकहरुका लागि सहज बसोबास र खानाको व्यवस्था गरिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भिमबहादुर खड्काले बताएका छन् । निर्देशक खड्काले भने, “पछिल्लो समयमा खप्तडमा आउने पर्यटकहरुलाइ खाना र बस्नको समस्या छैन । खप्तड क्षेत्रमा जिर्ण भएका अतिथी गृह पुनर्निर्माण गरिएका छन् । अझै निजि क्षेत्रलाइ भित्राउने प्रक्रियामा छौं ।”

कोरोना सङ्क्रमणको त्रासका कारण भएको लामो समय सम्मको लकडाउनका कारण खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या घटेको थियो । अवस्था सहज भए सँगै खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:५४
प्रतिक्रिया दिनुहोस्