शाखा अधिकृतको न्यूनतम तलब एक लाख हुनुपर्छ: अर्थमन्त्री शर्मा
काठमाडौँ–अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् ।
बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको बताए ।
सरकारले चालु आर्थिक वर्षका लागि सरकारी कर्मचारीहरूको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।
तर, यो अपर्याप्त रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले भने, ‘अन्त हैन आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’
सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन उत्पादन वृद्धि गर्नुपर्ने, मुलुकको आम्दानी बढाउनुपर्ने उनले बताए । राजश्व आम्दानी बढाउनुको विकल्प नभएको भन्दै अर्थमन्त्री शर्माले राजश्व क्षेत्रमा काम गर्नेहरूको जिम्मेवारी फरक र महत्त्वपूर्ण रहेको बताए ।
अर्थमन्त्री शर्माले विदेशी मुद्रा सञ्चिती बढाउन विदेशी रक्सी रोक्नुपर्ने धारणा राखे । ‘विदेशबाट रक्सी आयात यहाँ छ, विदेशी रक्सी आयात कल्ले रोक्ने रु’ उनले प्रश्न गरे ।
विदेशी रक्सी आयात रोक्ने काममा मुख्य रूपमा राजश्व कार्यालयको भूमिका रहने पनि मन्त्री शर्माले बताए ।
सरकारले गत १६ चैत २०७८ देखि विलासी वस्तुको आयातमा कडाइ गर्दै आएको छ । अर्थमन्त्री शर्माले समग्र मुलुकको द्रुत आर्थिक विकासका लागि राज्यका निकायहरूका बिचमा प्रभावकारी समन्वय आवश्यक पर्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०३
प्रतिक्रिया दिनुहोस्