Nic Ad Nic Ad
Nic Ad Nic Ad

सघन उपचार कक्षबाट मध्य रातमा बिरामी फरार

शुक्रबार, मंसिर ९, २०७९
पाल्पा– लुम्बिनी मेडिकल कलेज तानसेन ७ प्रभासको सघन उपचार कक्षमा उपचार भई रहेका तानसेन ६ कुन्सरेका ५५ बर्षिय सुर्यबहादुर सारु गएराती करिब २ बजे घर पुगे । मानसिक समस्याको कारण सघन उपचार कक्षमा मङ्गलवार बेलुकाबाट उपचार गराई रहेका सारु अस्पतालको सुरक्षा स्थिति कमजोर भएका कारण उनी मध्यरातमा भागेर घर पुगेका हुन् । सामान्य अवस्थामा बेहोस भएपछि उपचारका लागी भर्ना भएका आफ्ना बुबा एकाएक रातको समयमा खालि खुट्टा, पिसाबको पाइप,डाइपर सहित राती २ बजे घरमा आउँदा आफूलाई छक्क परेको छोरी सरिता सारुले बताए । अस्पतालमा बिरामी सारूलाई हेरचाहका लागी बसेका ज्वाइँ दल बहादुर पुन र छिमेकी वीर बहादुर घर्तीले अस्पतालबाट बिरामी भागेर घर पुगिसकेपछि मात्र आफूहरूलाई जानकारी भएको बताए । अस्पतालबाट बिरामी पैदल घर पुग्दा सम्म अस्पताल प्रशासन तथा अस्पतालको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड बेखवर बन्नु नै अस्पतालको सुरक्षा माथि नै प्रश्न चिन्ह खडा भएको छ । सघन उपचार कक्षमा उपचाररत बिरामी एकाएक मध्य रातमा बाहिरिँदा सम्म अस्पताल प्रशासनलाई जानकारी नहुनु नै अत्यन्त लज्जास्पद भएको स्थानीय टेक बहादुर घर्ती बताउँछन्। मेडिकल कलेजको यस्ता गल्ती बारम्बार हुने गरेको सुरक्षाको कारण पटक पटक बिभिन्न प्रकृतिका घटनाहरू घटेकाले अस्पताल जस्तो संवेदनशील संस्था आन्तरिक सुरक्षाका लागी थप जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । सुरक्षाप्रति अस्पताल संवेदनशील नहुँदा एकाएक सघन उपचार कक्षबाट बिरामी घर पुगेको घर्तीको भनाई छ । बिरामी घर पुगेर आराम गरिरहेको अवस्थामा अस्पतालको शल्यक्रिया विभागका प्रमुख रोमाकर घिमिरेले स्टाफ नर्सको साथमा बिरामीलाई फिर्ता ल्याउन एम्बुलेन्स सहित बिरामीको घर पुगेका थिए । बिरामीका आफन्तले अस्पतालको सुरक्षा संवेदनशीलता माथि प्रश्न उठाएपछि आफन्त र अस्पताल प्रशासनबिच छलफल गर्ने सहमतिमा बिरामीका आफन्तले बिरामीलाई उपचारका लागी पुन: अस्पताल पठाएका छन् । उपचारमा संलग्न चिकित्सक भास्कर शर्माका अनुसार बिरामी सारूको अवस्था अति संवेदनशील भएको,उपचारको क्रममा एकाएक रातीको समयमा घर जानु आश्चर्यको कुरा हो । लुम्बिनी मेडिकल कलेजका निर्देशक निर्दोष खनालले भने आकस्मिक उपचार कक्ष अत्यन्त संवेदनशील ठाउँ हो । यस्तो ठाउँबाट बिरामी भाग्नु सुरक्षा कमजोरी भएको उनले स्वीकार गरे । अबका दिनमा यस्ता कमजोरी नहुने प्रतिबद्धता समेत उनले ब्यक्त गरे । निर्देशक खनालले मानसिक रोगी तथा बिरामी राख्ने वाड हाल दोस्रो तलामा भएपनि अब तत्कालै पहिलो तलामा स्थानान्तरण गरिने हुँदा त्यस्ता समस्या नहुने बताए। छलफलमा सहभागी तानसेन ६ का वार्ड अध्यक्ष सागरमान महर्जनले अस्पतालको सुरक्षा कमजोरी नहुने भनेर आम नागरिकलाई कसरी विश्वास दिलाउने रु भन्ने विषयमा अस्पताल प्रशासन माथि नैतिक प्रश्न उब्जिएको बताउँदै यस्ता समस्याको निराकरणको उपाय खोज्न आग्रह गरे ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४६
प्रतिक्रिया दिनुहोस्