Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी गरेको छ । एन्फाको बुधबार सम्पन्न विशेष साधारण सभामा ‘ए’ डिभिजन लिग पुसमा गरिने प्रस्ताव गरिएको हो । लिगको ढाँचा सिंगल वा डबल्स के हुने भन्ने विषय क्लबहरुको इच्चामा भरपर्ने बताइएको छ । एन्फाले नेपाल सुपर लिग फ्रेन्चाइज लिग भने चैत देखि जेठसम्म् रिजर्व डेटमा गर्न सक्ने जनाएको छ । विशेष साधारण सभामा ‘बी’ डिभिजन लिग चैतमा, ‘सी’ डिभिजन वैशाखमा, जिल्ला लिग कार्तिक–मंसिरमा, प्रदेश, एन्फा प्रसिडेन्ट लिग र राष्ट्रिय लिग जेठ देखि असारसम्म, महिला लिग बैशाखमा, माघमा उपमेयर कप, मंसिरमा नकआउट फुटबल जस्ता प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरेको छ । साधरण सभामा एन्फाको चालु आर्थिक बर्षको बजेर र बर्षिक कार्यक्रम समेत पारित गरेको छ । जस अनुसार एन्फाले चालु आर्थिक वर्ष २०७९र८० को लागि ९४ करोड ८८ लाख ८८ हजार ५ सय ८८ अनुमानित आम्दानी र ९२ करोड ५१ लाख ८२ हजार ४ सय ७० अनुमानित खर्चलाई साधारण सभाबाट पारित गरेको छ । जसमा विश्व फुटबल महासंघ (फिफा) बाट ६१ करोड ५० लाख, एसियाली फुटबल महासंघ (एएफसी)बाट ८ करोड ८० लाख र बाँकी एन्फाको आन्तरिक स्रोतबाट जुटाउने एन्फाले जनाएको छ ।साधारण सभाले आर्थिक वर्ष २०७७र०७८ को आम्दानी २५ करोड ५६ लाख ३२ हजार २ सय १६ र खर्च २४ करोड ६९ लाख १८ हजार ९ सय ३३ रुपियाँलाई पास समेत गरेको छ । एन्फा साधारण सभाले आगामी आठ वर्षको लागि फुटबलको योजना र रणनीतिक कार्यक्रमलाई परिमार्जन हुने गरी अनुमोदन पनि गरेको छ । नयाँ कार्यसमितिको चार वर्षे कार्यकालमा १० देखि १२ स्थानमा टेक्निकल सेन्टर निर्माण गर्ने योजना साधारण सभाले पास गरेको छ । यसैगरी सन् २०२५ मा महिला र पुरुष टिमले साफ च्याम्पियनसिप जित्ने, सन् २०२७ मा एएफसी कपमा छनोट हुने, एन्फाले महिला र पुरुषको समान पाँच सय खेलाडीको ब्याकअपसहितको रणनीति बनाएर अगाडि बढ्ने जस्ता कार्यक्रम पनि अगाडि सारेको छ । साधारण सभाले फुटसल सञ्चालन कार्यविधि बनाउने, रोकिएको महिला लिग मंसिरमा गराउने र एन्फालाई व्यवसायिक बनाउन स्टाटेजिक पार्टनर खोज्ने निर्णइ पनि गरेको छ । साधारण सभाले एन्फा अनुशासन समितिमा मोहनकुमार इङ्नाम संयोजक, उपाध्यक्षमा बसन्त खाँण र सदस्यमा हेमकुमार राई, उमेललाल प्रधान र रमेश नापितलाई चयन गरेको छ । उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सदाचर समिति बनाउने निर्णय पनि गरेको छ । बुधबारको विशेष साधारण सभाले एन्फाको बाँकी दुई सदस्य पदमा रुपेश अधिकारी र दीपेन्द्र धिमाललाई निर्वाचित गरेको छ । बुधबार भएको पुन: निर्वाचनमा रुपेशले ५४ र दीपेन्द्रले ४७ मत प्राप्त गरे । सदस्यकै प्रत्यासी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले सात मत प्राप्त गरेका थिए । यसअघि गत असार ६ गते भएको निर्वाचनमा चार जनाको समान ३९ मत आएका कारण दुई सदस्यको लागि पुन: मतदान गरिएको हो । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०५
प्रतिक्रिया दिनुहोस्