यस्तो देखियो रातीमा मैतिदेवी मन्दिर (फोटोफिचर)
काठमाडौँ– काठमाडौँका विभिन्न प्रमुख शक्तिपीठ मध्ये एक महत्वपुर्ण मानिने मैतिदेवी मन्दिर ज्ञानेश्वर नजिकै कुमारीगास् क्षेत्रमा पर्दछ।
कुमारीगास् नामले चिनिने सो स्थानलाई हाल सबैले मैतिदेवी भनेर भन्ने गर्दछन्। अति प्राचीन मानिने यो शक्तिपीठ कहिले र कसले निर्माण गरायो भन्ने बारेमा इतिहास प्रष्ट नभएता पनि लिच्छविकालमा मातृका स्थापना गरिँदा यो पीठ पनि स्थापना गरिएको मानिन्छ।
हाल मैतिदेवीको नामले चिनिएका पनि स्थानीय अझै पनि मैती अजिमा, मेति अजिमाको नामले सम्बोधन गर्ने गर्दछन्। पञ्कुमारीको नामले पनि चिनिने यस मन्दिर कौमारी देवीको शक्तिपीठ हो।
मैतिदेवीको बारे विभिन्न कथा किंवदन्ती प्रचलित रहेको पाइन्छ। एक प्रचलित किंवदन्ती अनुसार बाख्रा चराउँदै बसेका एक तान्त्रिक, आकाशमा बादल हेर्दै बसिरहेका थिए। उनले अचानक आकाश मार्गबाट ५ जना कन्या उडेर गइरहेका देखे। त्यसपछि यिनीहरु साधारण मानिस पक्कै हैनन् भनेर आफ्नो तन्त्रबलले उनीहरूलाई रोके। त्यसपछी उनले को हो भनी सोधखोज गरि आफ्नो असली रूप देखाउन बिन्ती गरे।
अन्ततः पञ्चकुमारीले आफ्नो दर्शन दिई ५ कन्या एक रूप भइ कुमारीको दर्शन दिए। यसैपछी सो तान्त्रिकले सदाको लागि सोही स्थानमा देशको रक्षार्थ बस्नको लागि आग्रह गरि स्थापना गरेको मानिन्छ। अर्को कथन अनुसार आकाश मार्ग हुँदै माइती जान लागेका ५ कुमारीलाई देखेर तान्त्रिकले आफ्नो शक्तिबल द्वारा यसै स्थानमा स्थापना गरेको मानिन्छ।
मैतिदेवी मन्दिर परिसरमा विभिन्न स–साना अरु कलात्मक मूर्तिहरू पनि रहेका छन् भने बौद्ध चैत्यहरू पनि रहेका छन्। धार्मिक सहिष्णुताको अनुपम नमुना प्रस्तुत गर्ने यो क्षेत्रमा दशैं बेला भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। हरेक वर्ष मैतिदेवीमा तिहारको बेला भव्य खट जात्रा हुने गर्दछ।
यसै गरि, कोही पनि व्यक्तिले मनकामना दर्शन गरि आइसकेपछि, मैतिदेवीको दर्शन गरेपछि मात्र उसको यात्रा पूर्ण हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको पाइन्छ। मैतिदेवीलाई मनकामना देवीको आमा वा दिदीको रुपमा पनि लिएको पाइन्छ त्यसैले यहाँ दर्शन अनिवार्य मानिन्छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:०३
प्रतिक्रिया दिनुहोस्