धादिङ दुर्घटना : मृत्यु हुने २ जना पहिचान खुल्याे
काठमाडौँ – धादिङमा भएको दुर्घटनाबाट मृत्यु हुने दुई जनाको सनाखत भएको छ । आज भएको दुर्घटनामा परी कपिलवस्तुका ३५ वर्षीय इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौँ ल्याइएको उनले जानकारी दिए । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । आठ जना घाइते भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना ४ ख ८०४१ नंको गाडी सडकमा पल्टिएर दुर्घटना भएको हो ।
सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुई जनाको अवस्था सामान्य छ । उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्