आज कालरात्रि देवीको उपासना गरिँदै
काठमाडौँ – आज बडा दसैँको सातौँ दिन हो । भगवती दुर्गाको सातौँ स्वरूप कालरात्रिको आज पूजा आराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान् विष्णुको योग निन्दा पनि भनिन्छ ।
पौराणिक कथाअनुसार असुरको राजा रक्तबीजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरू देवीको जसरी नै पूजा आराधना गरिन्छ ।
करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजाम् ।
कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।
शास्त्रअनुसार कालरात्रिको स्वरूप कालो र भयभीत गर्नेवाला छ । कपाल फिँजाएको छ भने उनको चार हात छन् । विद्युत्को माला लगाएकी यस्ती कालरात्रिको काल पनि डराउने स्वरूप रहेको छ ।
चार हातमध्ये एक हातमा तरबार एकमा काटिएको शिर र अर्को हालमा काटिएको सिर वाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरूप देवी कालरात्रिको रहेको छ । देवीको जति डरलाग्दो स्वरूप छ त्यति नै शुभ फल पनि दिने भएकाले कालरात्रिलाई शुभांकरी पनि भनिन्छ ।
कालरात्रिको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रास समाप्त हुने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपासना गर्ने विधि रहेको छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्ति पीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेष गरी काठमाडौँको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलान्चोक भगवती, ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:२६
प्रतिक्रिया दिनुहोस्