इन्डोनेसियाको फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १३०को मृत्यु
काठमाडौं–हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १३० जनाको मृत्यु भएको छ ।
अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन् ।
खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन् ।
प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो । जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताए । ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको उनले जानकारी दिए ।
३४ जनाको रङ्गशाला भित्रै मृत्यु भएको थियो भने बाँकीको अस्पतालमा ज्यान गुमाएका हुन् ।
‘उनीहरू एउटै बाहिरिने विन्दुमा गए। त्यहाँ ठूलो भिड भयो र अक्सिजनको अभावले गर्दा सास फेर्न गाह्रो हुने अवस्था आयो’, अफिन्टाले बताए । सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुइँमा रहेको देखिन्छ ।
इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन् ।
इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । उक्त घटनाले ‘इन्डोनेसियाको फुटबलको छवि धूमिल बनाएको’ उसले बताएको छ ।
इन्डोनेसियाको प्रमुख लीग बीआरआई लीगा १ लाई एक हप्ताको लागि निलम्बन गरिएको छ । इन्डोनेशियाको फुटबल एसोसिएशनले शनिवार राति विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ र सो विषयबारे अनुसन्धानका लागि एउटा टोली मलंग पठाएको उल्लेख गरेको छ ।
घटनापछि अरेमा एफसीमाथि यो सीजनभरलाई प्रतिबन्ध लगाइएको छ । इन्डोनेशियामा पहिला पनि फुटबल म्याचको समयमा विभिन्न क्लबका समर्थकहरूबीच हिंस्रक टकराव देखा पर्ने गर्छ ।
फुटबलका आपसी प्रतिद्वन्द्विताले बेला बेलामा ह्रिंस्रक रूप समेत लिने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:२६
प्रतिक्रिया दिनुहोस्