Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १० जना पक्राउ

शुक्रबार, मंसिर ९, २०७९
चितवन– उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् । आक्रोशित आफन्तले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्षभित्र प्रवेश गरेर मङ्गलबार तोडफोड गरेको चितवन प्रहरीले जानकारी दिएको छ । तोडफोडबाट लाखौं रुपियाँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरण लगायतमा क्षति पुगेको अस्पतालले जनाएको छ । आक्रोशित भिडले आइसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पताल प्रशासनको भनाइ छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुँवरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । उनलाई प्याङक्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर उपचारका लागि आफन्तले अस्पताल भर्ना गरेका थिए । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरुले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको अस्पतालको भनाइ छ । तोडफोडमा संलग्न रहेको भन्दै मृतकका १० जना आफन्तलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्