Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीप लामिछाने आज नेपाल फर्कदैं

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आज नेपाल फर्कर्दै छन् । उनले प्रहरीसँग आत्मसमर्पण गर्ने र कानूनी लडाइँ लड्ने बताएका छन् । क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् । प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए । आज बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुग्ने र आफूलाई निर्दोष प्रमाणित गर्न कानूनी लडाइँ लड्ने बताएका छन् । युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ । सन्दीपले यसअघि पनि नेपाल फर्कन लागेको फेसबुकमा लेखेका थिए । उनले आज नेपाल फर्कने स्टाटस लेखेको यो दोस्रोपटक हो । ‘नेपालको आधिकारिक निकायमा आत्मसमर्पण गर्ने मेरो इमान्दार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु’ सन्दीपले फेसबुकमा लेखेका छन्, ‘मैले प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु । मेरो कानुनी अधिवक्ता सरोजकृष्ण घिमिरेको उपस्थितिका लागि पनि मैले अधिकारीहरूलाई विनम्र अनुरोध गरेको छु ।’ ‘ममाथि लागेको गलत आरोपविरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु।’ उनले लेखेका छन्, ‘छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।’ उनले कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने संयन्त्रको मागसमेत गरेका छन् । सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिज गएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२७
प्रतिक्रिया दिनुहोस्