मेस्सीको कीर्तिमानी गोलमा पीएसजीको बराबरी
काठमाडौँ— अर्जेन्टिनी स्टार लियोनल मेस्सीले कीर्तिमानी गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलमा बेन्फिकासँग बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा पीएसजी बेन्फिकासँग १—१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा मेस्सीले भने च्याम्पियन्स लिगमा ४० टोलीविरुद्ध गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । प्रतिस्पर्धात्मक खेलमा मेस्सीले २२औं मिनेटमा गोल गरेका थिए।
त्यसपछि डानिलोले ४१औं मिनेटमा बल बचाउने क्रममा आत्मघाती गोल गरेपछि खेल १—१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पीएसजीले लगातार गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेन । बराबरीसँगै पीएसजी समूह एचको शीर्षस्थानमा छ ।
पीएसजीले तीन खेलबाट सात अंक बनाएको छ । समान सात अंक बनाएको बेन्फिका दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको युभेन्ट्सको तीन र अन्तिममा रहेको म्याकावी हाईफा अन्तिममा छ ।
बुधबार राति नै भएको खेलमा युभेन्ट्सले म्याकावीलाई ३—१ गोलले हराएको थियो । यसैगरी समूह ईको खेलमा चेल्सीले एसी मिलानलाई ३—० र साल्जबर्गले डी जाग्रेबलाई १—० गोलले हराएको छ ।
समूह जीमा म्यानचेस्टर सिटीले एफसी कोपेनहेगनलाई ५—० र बोरुसिया डर्टमन्डले सेभियालाई ४—१ गोलले पराजित गरेको छ । समूह एफको अर्को खेलमा रियल म्याड्रिडले साख्तार डोनेस्कलाई २—१ गोलले हराएको छ । यही समूहको अर्को खेलमा आरबी लेईपजिगले सेल्टिकलाई ३१ गोलले पराजित गरेको छ । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०५
प्रतिक्रिया दिनुहोस्