Nic Ad Nic Ad
Nic Ad Nic Ad

गाउँभरि केरा खेती

बुधबार, मंसिर ७, २०७९
म्याग्दी— म्याग्दीको खबरामा केरा खेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्य बाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन् । स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ ।
एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केरा खेती गरेका छन् । पाखो बारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ । धान, गहुँ, मकै र कोदोलगायत खाद्य बालीको विकल्पमा केरा खेती गरेको स्थानीय कृषक प्रेमबहादुर सापकोटाले बताउनुभयो । वर्षमा १० पाथी कोदो फल्ने बारी र दुई मुरी धान उत्पादन हुने खेतमा गरेको केराबाट मासिक रु पन्ध्रदेखि २५ हजारसम्म आम्दानी हुने सापकोटाले बताउनुभयो । एक जनाले दुई देखि २० रोपनी जग्गामा केरा लगाएका छन् । केरा खेतीबाट मासिक न्यूनतम रु १०/१२ हजारदेखि ५० हजारभन्दा बढी कमाउने कृषक छन् । घर व्यवहार चलाउन र छोराछोरी पढाउन केरा खेतीको आम्दानीले सहयोग पुगेको छ । घर व्यवहार चलाएर बचेको पैसाले कच्ची घरलाई पक्की बनाएको स्थानीय कृषक हिरा कुँवरले बताउनुभयो । “खर हुने पाखो र खेती लगाउने खेतबारीमा अहिले केरा फलाएका छौँ”, उहाँले भन्नुभयो “दश वर्षको खेतीलाई एक वर्षको केराको आम्दानीले जित्छ ।” दश वर्षदेखि केरा खेती गर्दै आउनुभएका कुँवरले खबरामा पक्की घर बनाउनुभएको छ । गाउँमै परम्परागत खेती किसानी गर्दै आएकादेखि विदेशबाट फर्किएका युवाहरूले केरा खेतीलाई आम्दानीको स्रोत बनाएका छन् । उपयुक्त हावापानी, भूगोल र बजार नजिक भएका कारण खबरामा केरा खेती फस्टाएको हो । किसानहरूले हजारी जातको केरा खेती गरेका छन् । बिरुवा (गाना) रोपेको दुई वर्षदेखि उत्पादन लिन सकिन्छ । एक घरी केरामा एक हजार वटा सम्म कोसा लाग्ने गर्छ । धेरै पटक मलजल, खनजोत र गोडमेल गर्नु नपर्ने हुँदा केरा खेती अन्य फलफूलको तुलनामा सजिलो भएको कृषकको अनुभव छ । केराको घारीलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । प्रति १२ कोसा काँचो केरालाई रु ८० देखि एक सय र पकाउँदा रु एक सयदेखि एक सय २० का दरले बिक्री हुने गरेको छ । विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । अन्य फलफूलको तुलनामा सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले केरा खेती कृषकको रोजाइमा परेको हो । जिल्लामै उत्पादन हुन थालेपछि बेनीमा बाहिरबाट केरा आयात घट्न थालेको छ । बेनीको मल्लाजी फलफूल पसलका सञ्चालक श्रीकृष्ण सुवेदीले पहिलेको तुलनामा केरा आयात घटेको बताउनुभयो । सडक भए पनि यातायात सेवा सहज नहुँदा केरा बेच्न डोकोमा बोकेर बजारमा जानुपर्ने, केराको साना कोसा बिक्री नहुने र कोसामा दाग देखिने समस्या रहेको अगुवा कृषक सोवित शर्माले बताउनुभयो । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले दुई वर्षअघि बिरुवा वितरण गरेको थियो । रोग भित्रिन नदिनका लागि बगैँचा व्यवस्थापन र सरसफाइसम्बन्धी तालिम आवश्यक रहेको कृषक शर्माले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खबरालाई ब्लकमा समावेश गरेर केरा खेती विशेष कार्यक्रम सञ्चालन गर्न माग गरिएको उहाँले बताउनुभयो । ठूला कोसा बिक्री भए पनि साना कोसा बिक्री नहुने समस्या छ । बिक्री नहुने साना कोसा भएका केरालाई अन्य परिकार बनाउने सीपको आवश्यकता छ । दर्जन (प्रति १२ कोसा)को विकल्पमा तौलको आधारमा मूल्य निर्धारण गर्न पनि खबराका कृषकले माग गरेका छन् । रासस
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्