पहिरोले पाइप बगाएपछि ५ सय परिवारमा खानेपानी अवरुद्ध
काठमाडौँ – तनहुँमा खानेपानीको पाइप पहिरोले क्षतिग्रस्त बनाएपछि ५ सय परिवार खानेपानी विहीन बनेका छन् ।
गत मङ्गलवार साँझदेखि परेको अविरल वर्षाका कारण एक सय असी घरधुरीका करिब ५ सय परिवारमा खानेपानी आपूर्ति बन्द भएको हो।
व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षतिपुर्याएको स्थानीयले बताएका छन् ।
बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन नसकिएको उक्त समितिले जनाएको छ । धारामा पानी नआएपछि स्थानीय बासीलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले जानकारी दिए।
त्यसै गरी वडा नं १ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ । व्यास नगरपालिका–१३ स्थित खिरखादी मुहानको मुख्य लाइनको पाइप फुटेकोले पानी वितरणमा समस्या भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।
उक्त समितिले व्यास नगरपालिका–१ का दुई हजार छ सय घरधुरीमा पानी वितरण गर्दै आएको थियो। लामो दूरीबाट ल्याइएको खानेपानीको पाइप हालैको अविरल वर्षाका कारण पाइपमा क्षति पुर्याएकाले मर्मत गरी चाँडो पानी सञ्चालन गर्ने योजना रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्