सूर्य चिन्हबाट निर्वाचन लडेपछि जित्ने निश्चित छ : कमल थापा
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूले निर्वाचन जित्नकै लागि सूर्य चिन्ह रोजेको बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गराएपछि प्रतिक्रिया दिँदै थापाले आफू जित्ने निश्चित भएपछि सूर्य चिन्ह लिएको बताएका हुन् ।
एमालेसँग तालमेल गरेर मकवानपुर १ बाट थापाले टिकट पाएका हुन् । एमाले कार्यकर्ता थापालाई टिकट दिएको विरोधमा पार्टी कार्यालय मकवानपुरमा ताला लगाएर विरोध गरिरहेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएपछि उनले एमाले नेता कार्यकर्ताको चित्त बुझाएर अघि बढ्ने बताएका हुन्।
उनले भने, ‘मैले एमालेको साथ पाउनु खुसीको कुरा हो। मैले जीत सुनिश्चित गर्नको लागि सूर्य चिह्न रोजेको हुँ। मैले जित्नको लागि मात्रै नभएर राष्ट्रिय आवश्यकतालाई बुझेर हामी एकताबद्ध भएका छौँ।’
राष्ट्रवादी र लोकतन्त्रवादी शक्ति एक भएर देशको रक्षा गर्ने बताए। निर्वाचित भइसकेपछि पनि राष्ट्रिय हितको सवालमा एमालेसँग एकै ठाउँमा उभिने उनको भनाइ छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२८
प्रतिक्रिया दिनुहोस्