कांग्रेस नेता डा.कोइरालाद्वारा मोरङ– ६ बाट उम्मेदवारी दर्ता
विराटनगर— आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उनले आज अपराह्न ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराए ।
कोइरालासँगै मोरङ निर्वाचन क्षेत्र नं ६ (ख_ का लागि प्रदेशसभा सदस्यका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पनि मनोनयन दर्ता गराएका छन् । डा कोइरालाले गठबन्धनको नेतृत्व गरेको काङ्ग्रेसकै नेतृत्वमा बनेको सरकारले निर्वाचन पनि गर्ने भएकाले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुने विश्वास व्यक्त गरे ।
निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आपसी सल्लाह, रणनीति र समन्वय हुने भन्दै डा कोइरालाले भने, “आसन्न निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । पार्टीको जग बसाल्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको विरोध गरेको हो, प्रतिनिधिसभा र प्रदेशसभाका लागि होइन, आसन्न निर्वाचनमा हामी हाम्रो गठबन्धनसँग मिलेर जाने हो ।” यसैगरी, मोरङ निर्वाचन क्षेत्र नं ६ का लागि प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले)का नेता लालबाबु पण्डितले पनि आफ्ना मनोनयन दर्ता गराएका छन् ।
उनले सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै जनताका चाहना अनुसार आफूले काम गरेकाले जनताले मलाई रुचाउने विश्वास व्यक्त गरे । जनताका चाहना नै मेरो निर्वाचनको एजेन्डा भएकाले आफू यस क्षेत्रको अब्बल उम्मेदवार भएको उनले प्रष्ट पारे।
साथै, मोरङ निर्वाचन क्षेत्र नं ५ (ख) बाट प्रदेशसभा सदस्य पदका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मनोनयन दर्ता गराएका छन् ।
छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारको मनोनयन दर्ताको काम जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:३३
प्रतिक्रिया दिनुहोस्