Nic Ad Nic Ad
Nic Ad Nic Ad

उम्मेदवारहरूद्वारा मनोनयन दर्ता सम्पन्न, कसले कहाँबाट गरे

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रधानमन्त्री देउवाको तर्फबाट उहाँकी धर्मपत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले मनोनयन दर्ता गराएकी हुन् । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित भई झापाको क्षेत्र–५ बाट मनोनयन पत्र दर्ता गरेका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र–२ बाट मनोनयन पत्र दर्ता गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको क्षेत्र–१ बाट र वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम क्षेत्र–१ बाट मनोनयन पत्र दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १, उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत क्षेत्र नम्बर १ र अर्का उपसभापति धनराज गुरुङले स्याङ्जा क्षेत्र नम्बर २, महामन्त्री गगनकुमार थापाले काठमाडौँ क्षेत्र नम्बर ४ र अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ वाट उम्मेदवारी दर्ता गराएका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गरेका छन्।
अर्थ मन्त्री जर्नादन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन्।
नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बा प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले परित्याग गर्नुभएका नेता घनश्याम भुषालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको क्षेत्र–३ निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले महोत्तरीको क्षेत्र–३ बाट र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सप्तरीको क्षेत्र–२ बाट मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने समेत असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ । यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपराह्न ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ । निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्