नेभिगेशन
जीवनयापन

सन्दीप लामिछाने अझै सात दिन थुनामा रहने

काठमाडौं -क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई बिहीबार प्रहरीले पक्रेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो । कतारको दोहाबाट बिहीबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए । सन्दीपले प्रहरी सामु आत्मसमर्पण नै गरेका थिए । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए । उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ । उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलको निशानामा परेलगत्तै उनी काठमाडौं फर्किएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै