उम्मेदवारको उजुरी छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट
काठमाडौँ— निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्ने जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएकाे बताए ।
असोज २३ गते आइतबार राजनीतिक दलका नेताहरूले उम्मेदवारी मनोनयन गरेका थिए । सोमबार अपराह्न ३ बजेसम्म त्यसमाथिको दाबी विरोध र उजुरीको समय तोकिएको थियो ।
प्रवक्ता पौडेलले कर्णाली प्रदेशका केही जिल्लाहरूबाट विद्युत् र टेलिफोन दुवै अवरुद्ध भएकाले त्यहाँ मनोनयन भएका उम्मेदवारहरूको तथ्याङ्क आउन बाँकी रहेको जानकारी दिए ।
उनले भने, “जिल्लामा हिजो मनोनयन दाखिला भयो । अब मनोनयन दाखिलाको काम टुङ्गिएको छ । त्यसको डाटाहरू पनि प्राप्त भएको छ । अब कर्णालीका जिल्लाहरूमा अझै पनि इन्टरनेट र टेलिफोन अवरुद्ध भइराखेको हुनाले त्यहाँको चाहिँ सिष्टममा पोष्टिङ हुन सकेको छैन । नभए अरू सबैतिरको आइसकेको छ ।”
आयोगले उम्मेदवारीहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने पनि जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:२८
प्रतिक्रिया दिनुहोस्