Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या दोब्बर

शुक्रबार, मंसिर ९, २०७९
भक्तपुर— आसन्न निर्वाचनका लागि भक्तपुरमा राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या दोब्बर रहेको छ ।
भक्तपुरका दुई वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेशमा सभा गरी १९ वटा राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ भने स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या ३८ रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी लगायत राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता भएको जानकारी दिए । स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनेहरूमा यसअघि विभिन्न राजनीतिक पार्टीमा आबद्ध भएका र नागरिक समाजमा लागेका व्यक्ति छन् । क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यका लागि चार जना स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी बिसीले बताए । यस्तै क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका लागि २६ जनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । तीमध्ये ११ स्वतन्त्र छन् भने बाँकी विभिन्न दलका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २५ हजार २८ जना मतदाता छन् भने क्षेत्र नम्बर २ मा एक लाख ९४ हजार ४३९ गरी जिल्लामा कुल मतदाताको सङ्ख्या दुई लाख ९६ हजार ९७६ जना रहेको कार्यालयले जनाएको छ । जिल्लामा २२२ वटा मतदान केन्द्र छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार