महिला क्रिकेट: एपीएफ र सुदूरपश्चिम विजयी
कास्की— नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
पोखरा रङ्गशालामा मङ्गलवार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको बागमतीले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो ।
जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य प्राप्त गर्यो । एपीएफको ब्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाए ।
बागमतीको तर्फबाट अस्मिता कर्माचार्यले अभिजित १९ तथा सुमन खतिवडाले १९ रनको पारी खेलेका थिए । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक एक विकेट हात पारे । बागमतीका बलरहरू सोनी पाख्रिन र सुमन खतिवडाले समान दुई/दुई तथा अस्मिता कर्माचार्यले १ विकेट लिइन् । खेलमा एपीएफकी नेरी थापा प्लेयर अफ द म्याच भइन् ।
अर्को खेलमा सुदूर पश्चिमाञ्चलले घरेलु टोली गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्यो । पहिला ब्याटिङ गरेको गण्डकीले पुरा २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ५९ रन बनायो । गण्डकीको तर्फबाट सृष्टि जैसीले २८, ज्योत्स्निका मरासिनीले ७, सिमाना केसीले ६, सिला क्षेत्रीले अभिजित ६ रन बनाइन् । सुदूरपश्चिमको बलिङतर्फ रितु कनौजियाले २ तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एक/एक विकेट लिए ।
जितका लागि ६० रनको लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिमले १०.२ ओभरमा ४ विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त गर्यो । सुदूरपश्चिमको ब्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै ३ चौकाको मद्दतमा २२ रन बनाइन् । त्यस्तै, स्नेहा महराले २७ बलमा ४ चौका सहित २१ रन हानिन् । गण्डकीका बलरहरू शिला क्षेत्रीले २ र सृष्टि जैसीले १ विकेट लिइन् । खेलमा सुदूरपश्चिमकी रितु कनौजिया प्लेयर अफ द म्याच भइन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:२३
प्रतिक्रिया दिनुहोस्