Nic Ad Nic Ad
Nic Ad Nic Ad

आङ सान सूचीलाई थप ३ वर्षको जेल सजाय

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–सैन्य शासित म्यानमारको अदालतले प्रजातन्त्रवादी नेता आङ सान सूचीमाथि थप दुई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल अवधि लम्ब्याएको छ । सैनिक शासनको प्रमुख विरोध गर्दै आएकी नेता एवं नोबेल शान्ति पुरस्कार विजेता सुचीमाथि चुनावमा धाँधली गरेको, भ्रष्टाचार लगायत १८ वटा अभियोग लगाइएको छ । हाल कारागारमा रहेकी सूचीलाई अदालतले तीन वर्षको जेल अवधि थपिदिएको छ । जसअनुसार उनीमाथि जम्मा २६ वर्षको जेल सजाय तोकिएको छ। पछिल्लो पटक सूचीमाथि लागूऔषध तस्करीको आरोपमा वर्षौंअघि दोषी ठहरिएका माउङ वेइकबाट ५५०,००० अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो। म्यानमारको सेनाले २०२१ को फेब्रुअरी १ मा जननिर्वाचित सरकार अपदस्थ गर्दै ७७ वर्षीया सूचीसहित थुप्रै नेताहरूलाई गिरफ्तार गरेको थियो । यसबीचमा सैन्य सरकारको कारबाहीमा हजारौंको मृत्यु हुनुका साथै ठूलो संख्यामा नेता तथा अभियन्ताहरू गिरफ्तारमा परेका छन् । सूचीले भने आफूमाथि लागेका दर्जनभन्दा बढी आरोप अस्वीकार गर्दै आएकी छन् । २३ वर्षको जेल सजाय भुक्तान गरिरहेकी सूचीमाथि पछिल्लो मुद्दामा थप ३ वर्षको सजाय तोकिएपछि उनको जेल सजायको अवधि २६ वर्ष पुगेको हो । यद्यपि अधिकारकर्मी र विश्लेषकहरूले सूचीमाथिको मुद्दा राजनीतिक रुपमा पूर्वाग्रही रहेको भन्दै खारेज हुनुपर्ने माग गर्दै आएका छन् । सूचीलाई राजधानीको जेलमा एक्लै राखिएको बताइएको छ । उनीमाथिको अदालती प्रक्रिया बन्द इजलासमा हुने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:४९
प्रतिक्रिया दिनुहोस्