गृहमन्त्रीसँग चिनियाँ राजदूतकाे बिदाइ भेट
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिदाइ भेट गरेकी छन् ।
भेटमा नेपाल–चीन आपसी सम्बन्ध, आपसी सहयोग आदान प्रदानलगायत विषयमा कुराकानी भएको छ । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिवद्ध छ,’ गृहमन्त्री खाणले भने, ‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ । छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ।’
उनले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताए । त्यस्तै गृहमन्त्री खाणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सि चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताए ।
नेपालको भौतिक विकास, प्राकृति विपद् र महामारीको बेलामा पुर्याएको सहयोगका लागि चिनियाँ सरकार र चिनियाँ जनतालाई राजदूत यान्छीमार्फत उनले धन्यवाद दिए । स्वदेश फर्किएपछि पनि यान्छीले नेपाल चीन सम्बन्ध प्रगाढ बनाउन र नेपालको विकास र समृद्धि, सदभाव र सहयोग, चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा प्रेरित गर्न निरन्तर भूमिका खेलिरहने विश्वास गृहमन्त्री खाणले व्यक्त गरे ।
राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सद्भाव र सहयोगका साथसाथै शुभकामना व्यक्त गरिरहेको बताइन् । खाण गृहमन्त्री भएपछि चीन–नेपाल सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकाको सराहना गर्दै राजदूत यान्छीले चीनको सुरक्षा संवेदनशीलतालाई गम्भीररूपमा लिएकोमा धन्यवाद व्यक्त गरीन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई सफलता मिलोस् भन्ने शुभकामना चीन सरकारका तर्फबाट राजदूत यान्छीले दिइन् ।
आफू जुनसुकै जिम्मेबारीमा जहाँ रहे पनि नेपालबाट प्राप्त सम्मान र सदभावलाई सदैव सम्झिरहने यान्छीको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:०५
प्रतिक्रिया दिनुहोस्