नेभिगेशन
जीवनयापन

नवौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा गण्डकी बने समूह विजेता

पोखरा–नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले वाग्मतीलाई पराजित गर्दै समूह विजेता बनेको छ । पोखरा रंगशाला कोर्टमा गण्डकीले वाग्मतीलाई ३–१ सेटमा हराएको हो । यद्यपि, समूह ‘डी’ मा गण्डकी र वाग्मती मात्रै रहेकोले दुवै टिमले क्वाटरफाइनल चरण प्रवेशलाई सुनिश्चित बनाइसकेका छन् । दुई टिमले समूह विजेता बन्न प्रतिस्पर्धा गरेका हुन् । पहिलो सेट २५–२० ले परिणाम हात पारेको गण्डकीले दोस्रो सेट भने १५–२५ ले वाग्मतीलाई सुम्पियो । तेस्रो र चौथो सेटमा गण्डकीले मौका दिएन । तेस्रो सेट २५–१८ ले जित हात पार्दा चौंथो सेट सहज प्रतिस्पर्धामा २५–१४ ले गण्डकी विजयी भयो । शुक्रबार पहिलो खेलमा विभागीय टिम पुलिसले कर्णालाी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । साविक विजेता पुलिसले २५–१६, २५–१२ र २५–११ को सहज जित निकालेको हो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ । पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णाली सहित लुम्बिनी प्रदेश रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् । प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । शनिबारको पहिलो खेल एपीएफ र गैरआवासीय नेपाली संघ (एनआरएनए), दोस्रो खेल त्रिभुवन आर्मी र प्रदेश १ र तेस्रो खेल पुलिस र लुम्बिनी प्रदेशबीच हुने छ । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै