नवौं राष्ट्रिय खेलकद महिला क्रिकेट प्रतियोगिता: नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश
काठमाडौँ— नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।
पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा अलआउट हुँदै १५ रन मात्र जोड्न सक्यो ।
लुम्बिनी प्रदेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
उसका लागि कप्तान सरस्वती जिएमले बनाएको ६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन जोडेको थियो । पुलिसका लागि कविता जोशीले ४८ तथा सम्झना खड्काले २९ रन बनाईन् ।
जितसँगै पुलिस ६ अंक जोड्दै समूह ’बी’ को शीर्ष स्थानमा रहेर सेमिफाईनल पुगेको छ ।
त्यस्तै शुक्रबार नै भएको खर्को खेलमा प्रदेश एकले पहिलो जित हात पारेको छ । प्रदेश एकले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको ५४ रनको लक्ष्य प्रदेश एकले ६ ओभर ४ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यस अघि पहिले ब्याटिङ गरेको कर्णालीले १६ दशमलब १ ओभरमा अलआउट हुँदै ५३ रन जोडेको थियो । जितका बाबजुत प्रदेश एक समान ३ अंकमा रहे पनि लुम्बिनी प्रदेश भन्दा पछि रहेकोले समूह चरणबाट नै बाहिरियो । लुम्बिनी भने उपबिजेताका रुपमा सेमिफाईनल पुग्यो । कर्णाली जित बिहिन रहदै बाहिरियो ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:५९
प्रतिक्रिया दिनुहोस्