नेभिगेशन
जीवनयापन

गाउँपालिकाले गरिदियाे बाेटे जातिकाे निःशुल्क स्वास्थ्य बीमा

काठमाडाैँ – तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको बाेटे परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो । गाउँपालिकाले वडा नं ५ को गणेश टोलबाट अल्पसङ्ख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए। यस टोलका २७ बोटे परिवारको स्वास्थ्य बीमा गरिएको छ । यस वडामा दुई सय ५० भन्दा बढी घरधुरी बोटे जातिको छ । “पहिलो चरणमा २७ परिवारको स्वास्थ्य बीमा गरेर बीमा कार्ड हस्तान्तरण गरेका छौँ”, उनले भने, “क्रमशः सबै परिवारको बीमा गरिनेछ ।” गाउँपालिकाका पाँच वटामध्ये सबैभन्दा बढी बोटे परिवार यही वडामा बसोबास गर्छन् । साथै यो वडामा एक परिवार चेपाङको बसोबास रहेको छ भने गाउँपालिकाभरी दुई परिवार बराम जातिको छ । “सबै वडामा अल्पसङ्ख्यक परिवारको तथ्याङ्क सङ्कलन भइरहेको छ”, उनले भने। आर्थिकरूपमा विपन्न र पछाडि पारिएका व्यक्तिलाई स्वास्थ्यको पहुँचसम्म ल्याउन निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए। गाउँपालिकाले अल्पसङ्ख्यक जातिको पहिचान गरी बीमा गर्नका लागि रु तीन लाख ५० हजार विनियोजन गरेको छ । गाउँपालिकाले सीसमान्तकृत तथा आर्थिक सामाजिकरूपले पछाडि परेको भुजेल जातिको आयआर्जन वृद्धिका लागि रु चार लाख बजेट विनियोजन गरेको थापाले बताए। पाँच जनासम्म सदस्य रहेको परिवारको बीमाका लागि वार्षिक रु तीन हजार पाँच सय शुल्क तिर्नुपर्छ । पाँच जनाभन्दा माथि भए प्रतिव्यक्ति रु सात सयका दरले रकम बुझाउनुपर्ने प्रावधान छ । गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिन थालेपछि अल्पसङ्ख्यक जातिका व्यक्ति खुसी भएका छन् । जिल्लाका अन्य स्थानीय तहले पनि विपन्न परिवारको स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छन् । सदरमुकामस्थित व्यास नगरपालिकाले नगरवासीको स्वास्थ्य बीमा गरिदिने भएको छ । विपन्न नगरवासी र स्वास्थ्य बीमा नभएका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्न लागिएको हो । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउन र बीमा गर्न नसक्ने विपन्न परिवारलाई नगरपालिकाका तर्फबाट बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै