एथ्लेटिक्समा आर्मीलाई २ कीर्तिमान
पोखरा–पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ ।
पोखरा रङ्गशालामा भएको चार सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । जयरानीले निर्धारित दुरी एक मिनेट चार दशमलव १३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यसअघि उनले ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट सात दशमलव दुई सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
महिला हडल्मा यस स्पर्धामा एपिएफकी भागीरथी थारुले एक मिनेट छ दशमलव छ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने एपीएफकै कल्पना श्रेष्ठले एक मिनेट ६ दशमलव ५१ सेकेन्डमा उक्त दुरी पार गरिन् ।
यस्तै एथलेटिक्स पुरुषतर्फ १० हजार मिटरमा आर्मीकै दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेका हुन् । दीपकले एपीएफका गोपीचन्द्र पार्कीको कीर्तिमान तोड्दै आफ्नो नामका नयाँ कीर्तिमान खडा गरेका हुन् ।
गोपीको नाममा ३० मिनेट ३० दशमलव ९९ सेकेन्डको कीर्तिमान थियो । गोपीले भने रजतमा चित्त बुझाए । उनले उक्त दुरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरे । आर्मीकै गजेन्द्र राईले कांस्य पदक जिते । उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।
महिला बास्केटबलमा बागमतीको जित
तनहुँमा जारी महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अङ्कको अन्तरमा पराजित गरेको हो। लिग चरणमा खेलाइएको प्रतियोगिताको पहिलो चरणमा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो । यस्तै, बागमतीले दोस्रो चरणमा १३–८, तेस्रो चरणमा २०–१४ को अन्तर कायम ग¥यो । चौथो चरणमा गण्डकीले १६–९ को अन्तर बनायो ।
खेलमा गण्डकीकी सीमा गर्वुजाले सर्वाधिक १६ अङ्क जोडेकी थिइन् । यसअघिको खेलमा बागमतीले प्रदेश–१ लाई ७५–२४ को अन्तरमा जित हासिल गरेको थियो ।
खोखोमा आर्मीको ‘फ्लोअन’ जित
खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुवात गरेको छ । पोखरा रङ्गशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अङ्कले हराएको हो ।
चार इनिङ्समा खेलाइएको खेलमा आर्मीले लगातार तीन इनिङ्समा जित निकालेपछि फलोअन जित सुनिश्चित गरेको हो । प्रत्येक इनिङ नौ मिनेट खेलिने भए पनि अन्तिम इनिङ नखेलेर आर्मी विजेता घोषित भएको रेफ्री यमबहादुर थापाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:५८
प्रतिक्रिया दिनुहोस्