शताब्दी पुरुषलाई राजकीय सम्मान (फोटोफिचर)
ललितपुर–वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले राजकीय सम्मान दिएको छ । राजकीय सम्मानका साथ यनको अन्तिम बिदाइ गरिएको छ ।
उनको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिए । साथै नेपाल प्रहरीको एक टुकडीले पनि सलामी अर्पण गरेको छ ।
प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि जोशीलाई अन्तिम श्रद्धाञ्जली दिए ।
जोशीलाई श्रद्धाञ्जली दिन सभामुखअ अग्नि प्रसाद सापकोटा, राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारणले श्रद्धाञ्जलि दिएका छन् ।
शताब्दी पुरुष जोशीको उपचारको क्रममा आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । किष्ट अस्पतालमा जोशी तीन सातायता उपचाररत थिए ।
विगत लामो समयदेखि प्रोष्टेड तथा मुटुको समस्याबाट पीडित थिए । उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो ।
डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर उनलाई अस्पतालको सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।
जोशीको शरीरलाई नजलाएर अध्ययनका लागि राखिने भएको छ ।
यसअघि नै मृत्यु पछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि रसायन प्रयोग गरेर राखिने छ ।
जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अध्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:१४
प्रतिक्रिया दिनुहोस्