अर्घाखाँची सिमेन्ट भारतमा निर्यात
काठमाडौ–अर्घाखाँची सिमेन्टले भारतमा निर्यात सुरु गरेको छ । अर्घाखाँची सिमेन्टले १४ सय बोरा सिमेन्ट पहिलो पटक भारतमा पठाएको छ ।
सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय गरेसँगै व्यवसायी निकासी गर्न तयार भएका हुन् । अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाका अनुसार उत्तर प्रदेशको महाराजगन्जमा पहिलो ट्रक सिमेन्ट निर्यात गरिएको हो ।
सरकारले निर्यातको कार्यविधि बनाएसँगै अर्घाखाँची सिमेन्टले निर्यात थालेको छ । कम्पनीले रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १४०० बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पीपीसी) सिमेन्ट निर्यात गरेको जनाएको छ ।
कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगंजस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो ।
मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन । त्यही बजार ‘क्यास’ गर्न भारत निर्यात थालिएको हो ।
भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क पनि दिएको छ ।
कम्पनीले ओपीसी, पीपीसी र क्लिङ्कर निर्यातका लागि आईएसआई मार्क पाइसकेको छ । जसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ । गत असारमा तानसेन सिमेन्टले पनि निर्यात थालेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५३
प्रतिक्रिया दिनुहोस्