१५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक ३ बाट
काठमाडौं–पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउनका लागि भन्दै १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूलका विरुवाहरूको साथै यस वर्ष भित्रिएका फूलको नयाँ प्रजातिका विरुवाहरू समेत प्रदर्शन गरिने छ । प्रदर्शनी कात्तिक ३ देखि ६ गतेसम्म हुनेछ । प्रदर्शनी ललितपुरको जावलाखेलमा हुनेछ ।
फूल प्रदर्शनीमा ४९ व्यावसायिकक स्टल, २ प्रतियोगात्मक स्टल र ४ सूचनामूलक स्टल गरी ५५ वटा प्रदर्शनी कक्षहरु रहने छन् । यस वर्ष मेलामा ३७ हजारभन्दा बढिले प्रत्यक्ष अवलोकन र ८० लाख रुपैयाँसम्मको व्यावसायिक कारोबार हुने अपेक्षा रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
त्यस्तै विगतका वर्षमा कोरोनाका कारण उत्पादनमा केही समस्या देखिएको तर विस्तारै उत्पादन बढदै गएको एसोसिएसनका महासचिव विश्वमणि पोख्रेलले बताए । नेपालका पुष्प उत्पादनतर्फ लागेका कृषकहरूका लागि सरकारले नीति नियम बनाए पनि त्यसको उचित कार्यान्वयन हुन नसकेको महासचिव पोख्रेलले गुनासो गरे ।
यस वर्ष तिहारमा करिब २० लाख फूलका मालाहरू खपत हुने अनुमान रहेको छ । गत वर्ष १८ लाख १५ हजार माला खपत भएको थियो । महासचिव पोख्रेलकाअनुसार गत वर्षको तुलनामा यस पटक १०–१५ प्रतिशत फूलका मालाको
माग बढेको छ । ‘१७ लाख माला नेपालकै विभिन्न जिल्लाबाट उत्पादन हुँदै आएको छ भने करिब ३ लाख माला भने भारतबाट आयत हुनेगर्छ’, उनले भने ।
अघिल्लो वर्ष भारतबाट करिब ३ लाख ६३ माला भित्रिएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:१०
प्रतिक्रिया दिनुहोस्