कांग्रेसका बागी बुर्लाकोटीले गराए उम्मेदवारी निष्क्रिय
काठमाडौँ— चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रासद बुर्लाकोटीले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चितवन क्षेत्र नम्बर १ मा रहेको आफ्नो स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निश्क्रिय भएको घोषणा गर्दै बुर्लाकोटीले सो कुरा बताएका हुन् ।
उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले आफूले उम्मेदवारी निष्क्रिय बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘‘मैले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुने इच्छा व्यक्त गरेपनि पार्टीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थिएँ ।,’’ बुर्लाकोटीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘‘तर मैले जीवनभर नेपाली कांग्रेसप्रति गरेको त्याग, संघर्ष र मेहनतका कारण मैले नेपाली कांग्रेसको उम्मेदवार हुँदा हुँदै स्वतन्त्र उम्मेदवारी बनिरहन सकिन । पार्टीले मलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले चितवन क्षेत्र नम्बर १ मा रहेको मेरो स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निश्क्रिय भएको घोषणा गर्दछु ।’’
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:३९
प्रतिक्रिया दिनुहोस्