९ कक्षामा भरेको फारामले १२ सम्मलाई ढुक्क
काठमाडौं । माध्यामिक तहको रजिष्ट्रेसन फाराम९ कक्षामा भर्दा हुने गरी काम भइरहेको छ । माध्यमिक तहको फाराम एक पटक ९ कक्षामा भरेपछि हुनेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिष्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी प्राविधिक अध्ययन भइरहेको बोर्ड जनाएको छ । अहिले कक्षा ९–१२ लाई माध्यामिक तह मानिए पनि फाराम भने पटक-पटक भर्नुपर्छ।
अब यो वर्ष कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुदेखि लागू हुनेगरी कक्षा ९ मा फाराम भरे त्यही रजिष्ट्रेसन नम्बर हुने गरी होमवर्क गरिरहेको बोर्डले जनाएको छ ।
यसभन्दा अघि कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिष्ट्रेसन फाराम भर्नुपर्ने भएकाले बोर्डले गत साता कार्यतालिका सार्वजनिक गर्दै कक्षा ११ का विद्यार्थीले कात्तिक मसान्तसम्म रजिष्ट्रेसन फाराम भर्ने समयावधि तोकेको छ।
बोर्डले विद्यालयको कोड नम्बर एउटै कायम गर्ने गरी काम भइरहेको जनाएको छ। हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एउटा कोड तथा कक्षा १० र १२ का परीक्षा नियन्त्रण कार्यालयले फरक कोड निर्धारण गर्दै आएका छन्।