दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली हुने
काठमाडौँ – दसौँ संस्करणको बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुदको समापनको पूर्व सन्ध्यामा बुधवार पोखराको होटेल वाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले दसौँको मिति र स्थान तय गरेको हो ।
दसौँ राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको छ । खेलकुद आयोजना २०८१ मै हुने तर महिना भने तय हुन बाँकी छ।
बैठकमा एघारौँ राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग राखेका थिए । मधेस प्रदेशले एघारौँ संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी राखेका थिए ।
यद्यपि अब सिधै आयोजक तोक्नेभन्दा पनि बिलिङ सिस्टमबाट आयोजक तय गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।
बिहीबार पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद समापनका अवसरमा दसौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि झन्डा हस्तान्तरण गरिनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १८:२२
प्रतिक्रिया दिनुहोस्