रूसको नयाँ रणनीति : युक्रेनको सहर र ऊर्जा पूर्वाधारहरूमा प्रहार
एजेन्सी - रूसले युक्रेनमाथिको हमलामा नयाँ रणनीति अपनाएको छ । युद्धको ३४औं हप्ताको दौडानमा रूसले आक्रमणको नयाँ नीति अपनाएको हो ।
रुसले अहिले युक्रेनी सहरहरू र ऊर्जा पूर्वाधारहरूमा मिसाइलहरू र ‘कामिकाजे’ ड्रोनहरू प्रहार गर्न सुरु गरेको छ । ऊर्जा पूर्वाधारमा आक्रमण गरेर ध्वस्त बनाउने र नयाँ सहरहरुको भैतिक संरचनालाई पनि पूर्ण रुपमा ध्वस्त बनाउने नीतिमा रुस लागेको अन्तराष्ट्रिय सञ्चारमध्यमहरुले जनाएको छ ।
सहरमा आक्रमण गर्दा दर्जनौं मानिसहरूको मृत्यु भएको छ भने, धेरै सहरहरू बिजुलीविहीन भएको अवस्था छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार भने कि अक्टोबर १० देखि ड्रोन आक्रमणमा युक्रेनको ३० प्रतिशत पावर स्टेशनहरू ध्वस्त भएका छन्, जसले गर्दा देशभर ‘ठुलो ब्ल्याकआउट’ भएको छ। उनले युक्रेनीहरूलाई साँझको समयमा कम बिजुली प्रयोग गर्न आग्रह गरेका छन्।
युक्रेनी अधिकारीहरूले ड्रोनहरू इरानले बनाएको बताएका छन् र उनीहरूले तेहरानलाई रुसलाई आपूर्ति बन्द गर्न आग्रह गरेका छन्। इरानले ड्रोन आपूर्ति गर्न अस्वीकार गरेको छ, र रूसले टिप्पणी गरेको छैन। मस्कोले नागरिकलाई निशाना बनाएको कुरा अस्वीकार गर्दै आएको छ ।
‘पछिल्लो हप्ता मात्र, रूसी संघले युक्रेनी शहरका धेरै शहरहरूमा आवासीय भवनहरू, पावर स्टेशनहरू, ढल प्रशोधन प्लान्टहरू, पुलहरू र खेल मैदानहरूमा सयभन्दा बढी इरानी कामिकाजे ड्रोनहरू मार्फत प्रहार गरेको छ’ उनले सोमबार भने। ‘बालबालिका सहित दर्जनौं मानिस मारिए र घाइते भए। हामी तेहरानलाई तुरुन्तै रूसलाई कुनै पनि हतियार आपूर्ति बन्द गर्न आग्रह गर्दछौं।’
अमेरिकी गुप्तचर निकायका अनुसार रुसले आफ्नो घट्दो स्टकलाई भर्नका लागि उत्तर कोरियाबाट तोपखानाको गोला पनि खरिद गरिरहेको छ।