‘पुलित्जर पुरस्कार’ विजेता सनालाई अमेरिका जान रोक
काठमाडौँ- यस वर्षको ‘पुलित्जर पुरस्कार’ ग्रहण गर्न अमेरिकाको न्युयोर्क जान लागेकी कश्मिरी फोटोपत्रकार सना इरसाद मट्टुलाई दिल्ली विमानस्थलमा रोकिएको छ।
वैध भिसा र टिकट हुँदाहुँदै पनि आफूलाई अमेरिका जान नदिएको गुनासो उनले सामाजिक सञ्जालमा पोखेकी छन्।
२८ वर्षीया सनाले समाचार एजेन्सी रोयटर्सका लागि कोभिड-१९ महामारीताका खिचिएका तस्बिरका लागि ‘पुलित्जर पुरस्कार’ पाएकी हुन्। अवार्ड समारोहमा सहभागी हुन उनी न्युयोर्क जाँदै थिइन्।
सनाले ट्विटरमा लेखेकी छन्, ‘म पुलित्जर पुरस्कारका लागि न्युयोर्क जाँदै थिएँ, तर मलाई दिल्ली विमानस्थलमै रोकिएको छ। अमेरिकाको वैध भिसा र टिकट हुँदाहुँदै पनि मलाई अन्तर्राष्ट्रिय यात्रामा जान दिइएन।’
पछिल्ला चार महिनामा आफूलाई यसरी दोस्रोपटक रोकिएको उनले खुलाएकी छन्। ‘मलाई दोस्रोपटक बिनाकारण विमानस्थलमा रोकिएको छ,’ उनले लेखेकी छन्, ‘केही महिनाअघि जे भयो त्यसका लागि कतिपय अधिकारीहरूसँग सम्पर्क गर्दा पनि कुनै उत्तर पाइनँ।’
यसअघि सनालाई फ्रान्स जानबाट रोकिएको थियो। एउटा कार्यक्रममा सहभागी हुन पेरिस जाने क्रममा पनि आफूलाई विमानस्थलमा यसै गरी रोकिएको उनले बताएकी छन्।
‘त्यतिबेला मलाई इमिग्रेसनमा रोकिएको थियो,’ उनले भनेकी छन्, ‘अनि मलाई देश छोड्ने अनुमति नदिने कुनै कारण भनिएन। ‘तपाईं अन्तर्राष्ट्रिय यात्रा सक्नुहुन्न’ यतिमात्र भनियो।’
सनाले पुरस्कार समारोहमा सहभागी हुने अवसर जीवनमा एकपटकमात्रै पाइने बताएकी छन्। ‘पुरस्कार समारोहमा सहभागी हुनु मेरा लागि यस्तो अवसर थियो, जो जीवनमा एकपटकमात्रै पाइन्छ।’
गत मेमा दिवंगत भारतीय फोटो पत्रकार दानिश सिद्दिकी तथा उनका सहयोगी अदनान आबिदी, सना इरसाद मट्टु र अमित दबेलाई ‘पुलित्जर पुरस्कार २०२२’ सम्मानित गर्ने घोषणा गरिएको थियो।
‘फिचर फोटोग्राफी’ विधामा सो प्रतिष्ठित पुरस्कार रोयटर्सको टिमलाई दिने घोषणा गरिएको थियो। भारतमा कोभिड-१९ महामारीताका टिमले गरेको उल्लेखनीय कामका लागि पुरस्कार दिइएको हो।
यसरी कुनै कश्मिरी पत्रकारलाई अन्तर्राष्ट्रिय यात्रा गर्नबाट पहिलोपटक रोक लगाइएको होइन। यसअघि सन् २०१९, सेप्टेम्बरमा भारतको केन्द्र सरकारद्वारा कश्मिरमा अनुच्छेद ३७० हटाएपछि कश्मिरी पत्रकार-लेखक गौहर गिलानीलाई पनि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा गर्नबाट रोक लगाइएको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:३२
प्रतिक्रिया दिनुहोस्