बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै दिइन् राजीनामा
लण्डन– बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन् ।
बिहीबार साँझ उनले राजीनामा दिएकी हुन् । उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएको थियो ।
आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन् । पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन् ।
बेलायतकी दोस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्तिहरूमा परेकी छन् ।
बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन् । बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस ऋषि सुनकलाई हराएर कन्जरभेटिभ पार्टीकी नेता बनेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५४
प्रतिक्रिया दिनुहोस्