Nic Ad Nic Ad
Nic Ad Nic Ad

चर्को व्याजविरुद्ध राष्ट्र बैंकलाई ज्ञापनपत्र

बुधबार, मंसिर ७, २०७९
भैरहवा- रुपन्देही व्यापार संघले राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट व्यापार व्यवसायमा परेको असर एव् व्याजदरमा गरेको बृद्धिको विरोधमा ध्यानाकर्षणपत्र बुझाएको छ । संघले पहिलो चरणको आन्दोलन अन्तर्गत बिहीबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएको हो । संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेसहितको टोलीले राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रञ्जना पौडेललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ । ज्ञापनपत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले राष्ट्र बैंकको गलत नीतिका कारण बैंकहरुले व्याजदर बढाएर व्यापार व्यवसाय चलाउन नसकिने परिस्थितिको सिर्जना भएको बताए । पछिल्लो समय नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाबाट विनाकारण व्याज बृद्धि गर्दा व्यवसाय सञ्चालनमा गम्भीर असर परेको भन्दै उनले यसलाई नसच्याएमा व्यावसायीहरु पेशाबाट पलायन हुने अवस्था सिर्जना भएको उनले बताए । बैंक वित्तीय संस्थाबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा वृद्धि गरिनुका साथै त्यसमा कसैको निगरानी नहुनु ज्यादै दुःखद पक्ष रहेको स्मरण गराउँदै त्यसमा राष्ट्र बैंकले ध्यान दिन र व्याज दर घटाउन आग्रह गरे । आकाशिदो व्याजदर नियन्त्रणका लागि हाल विद्यमान स्प्रेड दर १ प्रतिशतमा घटाउनु पर्ने, बैंकको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरिनु पर्ने, नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई प्रवाह गर्ने ऋण ५ प्रतिशत नै कायम गरिनु पर्ने, तरलताको सुमचित व्यस्थापन गर्न पुँजीगत खर्च समयमै गर्नुपर्ने संघका महासचिव दयानिधि भण्डारीले बताए । यस्तै, ज्ञापनपत्र ग्रहण गर्दै राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक पौडेलले संघले प्रस्तुत गरेको विषयवस्तुलाई सकारात्मक रुपमा आफुले लिएको बताए । व्यावसायीहरुको मागलाई आफुले इमानदारिताका साथ सम्बन्धित निकायमा लग्ने प्रतिबद्धता जनाए । कात्तिक ४ गते शुक्रबार सबै व्यापारिक प्रतिष्ठानहरुमा विरोधको सांकेतिक स्वरुप कालो पट्टी बाँधेर आफ्नो व्यवसाय सञ्चालन गर्ने कार्यक्रम रहेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्