पोखरामा वित्तीय संस्थाले ब्याजदर बढाएपछि व्यवसायी आन्दोलित
काठमाडौँ – बैङ्क तथा वित्तीय संस्थाले अस्वाभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन् । होटेल सङ्घ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैङ्क र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ ।
सङ्घ अन्तर्गतका व्यवसायी भेला भएर बैङ्क तथा वित्तीय संस्था विरुद्ध सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने र ब्याजदर नघटाए आन्दोलन सुरु हुने बताए । ‘तिहारसम्म हेर्छौँ । नभए राष्ट्र बैङ्क र अर्थ मन्त्रालय घेर्ने निर्णय भएको छ,’ उनले भने, ‘७ प्रतिशतमा लिएको ब्याज अहिले १८ प्रतिशत पुग्यो । हामीले कसरी तिर्ने यत्रो ब्याज रु’
कोरोनाले थलिएको व्यवसायमा चर्को ब्याजदरले झनै आक्रान्त पारेको उनको भनाई छ । होटेल सङ्घ मात्रै होइन, पोखराका उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य सङ्घ पनि बैंक विरुद्ध खनिएको छ । सङ्घले बैठक नै बसेर आन्दोलनका कार्यक्रम तय गरेको छ । सङ्घले ब्याजदर १ अङ्कमा झार्न माग राखेको छ । उद्योग व्यवसाय कोभिडका कारण थलिएको र अहिले बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि झनै आक्रान्त हुने अवस्था आएको सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।
‘बैङ्कहरूले ब्याजदर अस्वाभाविक रूपमा बढाए । सबै बाँच्नुपर्छ । तर यो त अति भएन र रु,’ उनी भन्छन्, ‘आइतबार सरोकारवालाको बैठक राखेका छौँ । बैठकले जे निर्णय गर्छ त्यही कार्यान्वयन हुन्छ ।’ उनले आन्दोलन गर्नुको विकल्प नभएको बताए । व्यवसायीले आरोप लगाए जस्तो बैङ्कले ब्याजदर नबढाएको बैङ्कहरूको भनाइ छ । अहिले डिपोजिटमा पनि दर वृद्धि भएको छ । त्यति मात्रै होइन, बजारमा मुद्रा तरलता नभएका कारण लगानी गर्ने पैसा नभएको उनीहरूले बताए ।
बैङ्कले आफूखुसी ब्याजदर बढाए पनि नियामक निकाय राष्ट्र बैङ्क चुप छ । बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज ७ प्रतिशतबाट १५ प्रतिशत हुँदै अहिले १८ प्रतिशतसम्म पुगेको छ । वित्तीय संस्थाले ४० प्रतिशत सम्म लाभांश बाँड्दा घाटामा रहेको व्यावसायिक क्षेत्रलाई भने तर्साउने नियतका साथ काम गरिरहेको व्यवसायीहरूको आरोप छ । अहिले यहाँका अधिकांश बैङ्कको लगानी अनुत्पादक क्षेत्रमा छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:०४
प्रतिक्रिया दिनुहोस्