Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्र बैङ्कले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैङ्कले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैङ्कले ९१ दिनको लागि ३ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी माघ १०  गते परिपक्व हुनेछ । १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० कात्तिक ७ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैङ्क कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:०९
प्रतिक्रिया दिनुहोस्